वडाध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी

बाग्लुङ । किर्ते नागरिकता सिफारिस दिएको भन्दै बाग्लुङका वडा अध्यक्षसहित ५ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत बाग्लुङले जिल्लाको बाग्लुङ नगरपालिका वडा–४ का वडा अध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
कागजात मिलाएर दोहोरो नागरिकता लिएको आरोपमा यहाँका एक युवा पक्राउ परेको केही दिनमै कागजातमा साक्षी बस्नेदेखि हस्ताक्षर गर्नेसम्मलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।
बिहीबार पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बाग्लुङले वडा सचिव प्रेमबहादुर खड्कासहित दुई जनालाई पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र श्रेष्ठका अनुसार पक्राउ पुर्जीपछि तत्कालीन वडासचित हाल बाग्लुङ नगरपालिका–१४ मा कार्यरत वडा सचिव प्रेमबहादुर खड्का र दोहोरो नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ गरिएको छन् ।
वडा अध्यक्ष, किर्ते नागरिकता लिने युवकका पिता बनेका गुरुदत्त आचार्य र स्थानीय सदा शिवा प्रा.वि.का तत्कालीन निमित्त प्रधानाध्यापक महेन्द्र सापकोटालाई पक्राउ गर्न प्रहरी परिचालन गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
अभिभावक फेरेर दोहोरो नागरिकता लिएको समाचार विभिन्न संचार माध्यममा प्रकाशन भएपछि नागरिकता लिने बाग्लुङ नगरपालिका–६ का पंकज सापकोटालाई गत ८ मंसिरमा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।