गाँजासहित मकवानपुरका २ जना पक्राउ

मकवानपुर । अवैध लागुऔषध गाँजासहित बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डारा चितवनले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबु छोरालाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट पक्राउ गरिएको हो ।
जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ ।