दशैंमा दीलिप र प्रशान्तको ‘परदेशी–२’

काठमाडौँ । चलचित्र ‘परदेशी–२’ ले प्रदर्शन मिति तय गरेको छ । आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शनका लागि निर्माण पक्षले मिति तय गरेको हो ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को हालै फिल्मको छायांकन सकिको छ ।
लकडाउनअघि र पछि गरि ५० दिन लगाएर फिल्मको छायांकन गरिएको बताइएको छ ।
चलचित्रमा अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानका दृष्य देख्न पाइने निर्माण पक्षले जनाएको छ ।
फिल्मको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक रायमाझीको भनाइ छ ।
नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र रायमाझीले संयुक्त रुपमा चलचित्र निर्माण गरेका हुन् ।
चलचित्रमा गीतकार रमेश विजीको कथा वस्तु देख्न पाइने छ ।
चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय रहेको छ ।