मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव संसद्मा टेबुल

मकवानपुर । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविस्वासको प्रस्ताव बागमती प्रदेश सभा बठकमा प्रस्तुत गरिएको छ । आज शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविस्वासको प्रस्ताव टेबुल गरिएको हो ।
गत पुस १० गते नेकपा प्रचण्ड–माधव पक्षका ४५ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभा सचिवालयमा दर्ता गरेको अविस्वासको प्रस्ताव प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री अरुण नेपालले आज संसद्मा टेबुल गरेका हुन् ।
अविश्वासको प्रस्ताव संसद्मा टेबल गरिएता पनि आजको बैठकमा उक्त प्रस्तावबारे छलफल हुन भने पाएन ।
सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक माघ १९ गते दिनको २ बजे बस्नेगरी आजको बैठक स्थगित गरेका थिए ।
प्रदेश सभामा प्रचण्ड–माधव पक्षको ४७, केपी ओली पक्षको ३४, नेपाली कांग्रेसको २२, साझा विवेकशील नेपाली दलको ३ राप्रपाको २, नेपाल मजदुर किसान पार्टीको २ र १ स्वतन्त्र गरी ११० जना प्रदेश सभा सदस्य रहेका छन् ।