मापदण्ड विपरित प्रचण्डको सुरक्षामा डिएसपी

मकवानपुर । नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा बढाइएको छ ।
ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा रहेका डिएसपीलाई हटाएर नेपाल प्रहरीका सईको कमाण्डमा टोली खटाएको थियो । ओली प्रधानमन्त्री हुदाँ गृह मन्त्रालयले केही महिनाअघि आफैंले कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ जारी गरेको थियो ।
उक्त मापदण्डमा पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख छ । पूर्वविशिष्ट व्यक्तिहरूले आफूखुसी सुरक्षाकर्मी लिएर घरायसी काममा समेत प्रयोग गर्न थालेपछि विकृति बढेको भन्दै गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड बनाएको थियो । यो मापदण्ड कार्यान्वयनमा आएको एक वर्ष पनि पुगेको छैन ।
तर, देउवा नेतृत्वको सरकारले पुनः डिएसपीकै कमाण्डमा टोली खटाएको छ । प्रचण्डले आफ्नो सुरक्षामा डिएसपीकै कमाण्डको टोलीको व्यवस्थापन मिलाइदिन गृहसंग आग्रह गर्दै आएका थिए ।