टान पत्रकारिता पुरस्कार पत्रकार भुसाललाई

मकवानपुर । सञ्चारकर्मी टि.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) ले प्रत्येक बर्ष प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् ।
पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै भुसाललाई सम्मान गरेको हो । आज काठमाडौंमा आयोजित टानको ४२ औं, ४३ औं र ४४ औं वार्षिक साधारणसभाको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पत्रकार भुसाललाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
रेडियो प्रस्तोता पनि रहेका भुसाल पछिल्लो समय नेपाल पर्यटन बोर्डमा सञ्चार विज्ञका रुपमा कार्यररत समेत रहेका छन् । सञ्चारमाध्यमबाट नेपाली पर्यटन क्षेत्रले भोग्नु परेका विविध समस्या तथा पर्यटनका अन्य विषयमा सरोकारवालासँग निरन्तर सम्वाद गर्दै आएका पत्रकार भुसालले नेपालको समग्र पर्यटन उद्योग तथा पर्यटन क्षेत्रको नीतिगत विषयमा निरन्तर कलम चलाउँदै आएका छन् ।
टानको वार्षिक उत्सवको अवसरमा नेपाल टेलिभिजनका आर्थिक ब्युरो चिफ प्रदीप चापागाईं, न्युज एजेन्सी नेपालका प्रवन्ध निर्देशक सविन धमला, क्यापिटल नेपाल डटकम र क्यापिटल बिजनेस म्यागजिनका संवाददाता सुवास योञ्जन, राष्ट्रिय समाचार समितिका सम्वाददाता अच्युत रेग्मी, कर्पोरेट नेपालका संवाददाता फुर्पा शेर्पा लगायतका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।