उत्कृष्ट अङ्क हासिल गर्नेलाई वडाको सम्मान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को कार्यालयले विद्यालयमा उत्कृष्ट हुने विद्यार्थी, शिक्षाक तथा अभिभावकलाई सम्मान गरेको छ । शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा हिजो शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरेको हो ।
विद्यालयको आधारभूत तह (कक्षा ८) को परीक्षामा हेटौंडा ४ का सामुदायिक तथा संस्थागत विद्यालयबाट विषयगत उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी, विषयगत शिक्षक र उत्कृष्ट हुने विद्यार्थीका अभिभावकलाई समेत सम्मान गरेको हो । उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले शैक्षिक कल्चरल हल बनाउनको लागि वडासँग समन्वय गरिरहेको र मकवानपुर लागूऔषधको ट्रान्जिट प्वाइन्ट भएकोले गर्दा लागूऔषध न्यूनीकरणको लागि आफूलाई साथ दिन आग्रह गरेकी थिईन् ।
कार्यक्रममा हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले उपमहानगरले अन्य क्षेत्रमा भन्दा शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । वडाअध्यक्ष सिग्देलले वडा नम्बर ४ मा विद्यार्थीको चाप दिनानुदिन बढेकाले विद्यालयहरुमा कक्षा कोठा नै नपुग्ने अवस्था आईसकेको बताएका थिए ।
सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरका विभिन्न वडाका वडाअध्यक्ष, शिक्षक, प्राध्यापक, अभिभावकहरुको सहभागिता रहेको थियो । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाका संयोजक श्रीराम दाहालको अध्यक्षतामाकार्यक्रम सम्पन्न भएको थियो ।