हेटौँडाका १८ वटा वडा बालमैत्री

मकवानपुर/बालमैत्री नगर घोषणाको तयारीमा रहेको हेटौँडा उपमहानगरपालिकाका १९ मध्ये १८ औँ वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
मङ्गलबार हेटौँडाको १५ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । माघ २५ गते १४ नम्बर वडालाई बालमैत्री घोषणा गरिएसँगै सम्पूर्ण वडा बालमैत्री घोषणा हुने छन् ।
उपमहानगरपालिकाले आगामी फागुन १ गते हेटौँडालाई बालमैत्री नगर घोषणा गर्ने अभियानस्वरुप वडागत रुपमा बालमैत्री घोषणा कार्यक्रम हुँदै आएका थिए । मंगलबार नगरप्रमुख मीनाकुमारी लामाले १५ नम्बर वडालाई उपमहानगरपालिकाको १८ औँ बालमैत्री वडा घोषणा गरेकी हुन् । सो अवसरमा उपप्रमुख राजेश बानियाँसहितका जनप्रतिनिधि एवम् वडाका विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।