शिवरात्रीमा कन्सर्टका लागि ‘मङ्गोलियन हर्ट’ हेटौँडा आउँदै

मकवानपुर/शिवरात्रीका दिन हेटौँडामा बहुचर्चित गायक राजु लामा र उनको ब्यान्ड ‘मङ्गोलियन हर्ट’को विशेष प्रस्तुति हुने भएको छ । हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ मा बुधबार विशेष प्रस्तुतिका लागि मङ्गोलियन हर्ट हेटौँडा आउन लागेको महोत्सव व्यवस्थापक अनित विष्टले जानकारी दिए ।
ब्यान्डको विशेष प्रस्तुतिलाई मध्येनजर गर्दै बुधबार साँझका लागि टिकट दर समेत बढाइएको छ । महोत्सवमा नियमित प्रवेश शुल्क ७५ रुपैयाँ भए पनि राजु लामा र उनको ब्यान्डको प्रस्तुतिको समयका लागि टिकट दर ३ सय रुपैयाँ हुने भएको छ । बुधबारका लागि हेटौँडा आइडलको प्रतियोगितात्मक प्रस्तुति बाहेक अन्य कलाकारहरूको प्रस्तुति नरहेको विष्टले बताए ।
नियमित दरको टिकटबाट प्रवेश गर्ने दर्शकहरूलाई ४ बजेपछि स्टल क्षेत्रमा सीमित गरिने भएको छ । ४ बजेपछि ब्यान्डको प्रस्तुतिका लागि टिकट लिएका दर्शकहरूलाई २ नम्बर गेटबाट प्रवेशको व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।
‘दर्शकहरूको सहजताका लागि टिकेट सञ्जालबाट अनलाइन टिकट लिन सकिने व्यवस्था मिलाएका छौँ । यसका साथै गेटमै पनि टिकट उपलब्ध गराउने छौँ ।’ विष्टले भने ।
हेटौँडा १०, टिसिएन चौरमा जारी महोत्सवमा १८ गतेसम्म निर्माण तथा व्यापारसम्बन्धी स्टलहरू रहने छन् । निर्माण व्यवसायी सङ्घ मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा भइरहेको मेलामा दैनिक विभिन्न कलाकारहरूले साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति दिइरहेका छन् ।