नेपालमा ५१ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण
मकवानपुर । गत चैत्र ११ गतेदेखि सरकारले कोरोना रोकथामका लागि भन्दै लकडाउन गरेको छ । आजसम्म आईपुग्दा लकडाउनको अवधि ७५ दिन बढी भईसकेको छ । लकडाउन पालना गराउन सरकारले ठूलो संख्यामा जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको छ ।
यस अवधिमा लकडाउन पालना गराउन अग्रपक्तिमा खटिने मध्ये ५१ जना सुरक्षाकर्मीहरु कोरोना भाईरस संक्रमित भएका छन् । लकडाउनको अवधिमा ३३ जना जनपद प्रहरी, १३ जना नेपाली सेना र ५ जना सशस्त्र प्रहरीहरु संक्रमित भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीका अनुसार केही प्रहरीहरु संक्रमण निको भएर बसेका छन् भने, अन्य प्रहरीहरु विभिन्न आईसोलेशनमा उपचाररत रहेको बताएका छन् ।
त्यस्तै देशका विभिन्न स्थानमा सुरक्षा दिईरहेका नेपाली सेना १३ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ६ जना शान्ति सेनाका रुपमा कार्यररत रहेका छन् । कोरोना संक्रमण देखिएका मध्ये ४ जना नेपाली सेना उपचारपछि ठिक भईसकेका छन् ।
लकडाउन पालना गराउन सीमा क्षेत्रमा समेत रहेका ५ जना सशस्त्र प्रहरीहरु पनि कोरोना संक्रमित भएका छन् । सशस्त्र प्रहरी मुख्यालयका अनुसार केही सशस्त्र प्रहरी निको भईसकेको जनाईएको छ । हालसम्म संक्रमित ५१ सुरक्षाकर्मीहरु मध्ये २२ जना २ नम्बर प्रदेशमा खटिने रहेका छन् ।










