हेटौंडाकी थापाको हत्या आरोपमा ससुरा र नन्द पक्राउ

मकवानपुर । हेटौंडा–४ कर्राकी सुस्मिता थापाको हत्याको आरोपमा प्रहरीले २ जना पक्राउ गरेको छ । हेटौंडा–४ कर्रा सूर्यचोक नजिकै आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा भेटिएकी २२ वर्षीया थापाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतकका ससुरा र नन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले गत असार २ गते भएको सो घटना शंकास्पद रहेकोले अनुसन्धानका लागि मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीया नन्द सीता थापालाई पक्राउ गरेको बताए ।
पक्राउ परेका उपर ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घरायसी विवादमा हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
मृतक थापाको शव टाउकोमा चोट लागेको र भान्सामा रगत बगेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।