मकवानपुरमा सलह देखिएपछि किसान चिन्तित

मकवानपुर । पुर्वी मकवानपुरको विभिन्न ठाउँमा सलह किरा देखा परेको छ । पुर्वी मकवानपुरको तीन वटा गाउँपालिकाका विभिन्न ठाउँहरुमा सलह किरा देखिएको हो ।
मकवानपुरको बकैया, मकवानपुरगढी र बागमती गाउँपालिकाको विभिन्न ठाउँहरुमा सलहको झुण्ड देखा परेको स्थानियहरुले बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पनि सलह देखापर्न थालेको स्थानीयको भनाई छ ।
मकवानपुरगढी गाउँपालिकाको सुकौरा, बकैया गाउँपालिकाको १, २, ४, ५ र १० नम्बर वडामा सलह देखा परेको स्थानीयहरुले जनाएका छन् । सलह बागमती गाउँपालिकाका विभिन्न वडामा पनि देखा परेको बताइएको छ ।
हेटौंडाको वडा नं १८ पनि सलह देखिएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन् ।
सलह देखिन थाले पछि मकवानपुरका कृषकहरु चिन्तित बनेका छन् । सलह देखिए पछि कृषकहरु सलह धपाउन सुख्खा माटो छर्किने र आगो बालेर धुँवाउने काम गरेको उनीहरुले बताएका छन् ।
फट्याङ्ग्राकै एक प्रजतिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ ।
सलह किराको झुण्ड देखापरेपछि यसको समाधान तथा आवश्यक निर्णय लिनका लागि आज आइतबार बागमती प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सरोकारवालासंग बैठक बोलाएका छन् ।
कृषकको दुःखमा सरकारले साथ दिने बताउदै मन्त्री लामाले सरकारले सलह नियन्त्रणका लागि आवश्यक कार्य गर्ने जानकारी दिएका छन् ।