लियो क्लब अफ काठमाडौँ एम्पायर’को समुद्घाटन
काठमाडौं । गत शनिवार असार १३ गतेका दिन लियो क्लब अफ काठमाडौँ एम्पायरको समुद्घाटन भएको छ। लियो प्रिसं सिंहलाई संस्थापक अध्यक्ष रहने गरी सो क्लबको घोषणा गरीएको हो ।
लायन्स क्लबको युवा संगठन लियो क्लब सामाजिक कार्यहरूमा निकै सक्रिय छ । हालसम्म लायन्स क्लब अफ काठमाडौँ मातृभूमिको एक मात्र युवा संगठनको रूपमा लियो क्लब अफ काठमाडौँ मातृभूमि काम गरिरहेको थियो भने अर्को युवा संगठनको रूपमा अब लियो क्लब अफ काठमाडौं एम्पायर पनि स्थापित भएको छ ।

लियो क्लब अफ काठमाडौँ मातृभूमिका संस्थापक अध्यक्ष तथा लियो क्लब अफ काठमाडौं एम्पायरको संस्थापक तथा अभिभावक लियो लायन सरोज महतोको पहलमा यो क्लब को स्थापना भएको हो ।
लायन्स क्लब अफ काठमाडौँ मातृभूमिका अध्यक्ष र अभिभावक लायन नवराज सिलवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अन्तर्राष्ट्रिय डाईरेक्टर तथा स्पेसियालिटी क्लब लायन्स क्लब इन्टरनेशनलका सभामुख एम.जे.एफ लायन ई.सन्जय खेतानले ९१ जना युवा मेडिकल विद्यार्थीमा अन्तर्निहित उर्जालाई कुनै पनि कुराले रोक्न नसक्ने र रोक्न पनि नहुने भन्दै शुभकामना र बधाई दिएका थिए।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स अन्तर्राष्ट्रिय ३२५ बि २ नेपालका गवर्नर एम.जे.एफ लायन अनुप पहारी र पूर्व गवर्नर एम.जे.एफ लायन डि.के ढुंगानाले शुभकामना मन्तव्य दिएका थिए।

समारोहमा क्लबको उपाध्यक्षमा लियो सर्मिता श्रेष्ठ, लियो शुभम् श्रेष्ठ र लियो ओमकार यादव निर्वाचित भएका छन् । क्लबकी क्लब ब्रान्ड एम्बेसडरमा लियो शीतांशु ढकाल, सचिवमा लियो रमन अर्याल र सह–सचिवमा लियो अंकिता श्रेष्ठ र लियो सागर पन्थी नियुक्त भएका छन्। कोषाध्यक्षमा लियो कामना न्यौपाने र सह–कोषाध्यक्षमा लियो भाष्कर सिंह र लियो अनुशा घले मनोनयन भएका छन्।
उद्घाटन समारोह १ सय ६० जना भन्दा बढीको उपस्थितिमा जुम एपमार्फत अनलाइन गरिएको थियो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल डाक्टरी पढिरहेका पहिलो र दोस्रो वर्षका विद्यार्थी १०औं र ९औं ब्याचको संयुक्त प्रयासमा सो क्लब स्थापना भएको हो ।










