फाखेल सडकखण्डमा यातायात संचालन
मकवानपुर । अबिरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएको फाखेल खडकखण्ड पुनः खुलेको छ । उक्त सडकखण्डमा पहिरो पन्छाई आज मंगलबार बिहानदेखी सवारी संचालनमा ल्याएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
भीमफेदीको देउराली–गढी र सिमखोलामा गएको पहिरो पन्छाइ भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने फाखेल सडकखण्डमा आज बिहानैदेखि यातायात सेवा संचालनमा ल्याएको हो ।
तर, मदनभण्डारी राजमार्ग अन्तरगत पर्ने भीमफेदी–सिस्नेरीबाटो भने अझै पनि अवरुद्ध नै छ । सिस्नेरीदेखि दक्षिणकालिकासम्मको सडकखण्डमा गएको पहिरोहरु पन्छाइ भोलि साँझ सम्ममा भीमफेदी काठमाडौंतर्फको यातायात संचालनमा ल्याउने तयारी भइरहेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
साथै हेटौंडाबाट काठमाडौंतर्फ जाने सबै प्रकारको सवारीसाधनलाई आवश्यकता हेरी त्रिभुवन राजपथको बाइरोर्डबाट पठाउने गरिएको र अतिवाश्यक मोटरसाईकल र जीपहरुलाई भीमफेदी कुलेखानी तर्फ पठाउने गरिएको भंैसे प्रहरी चाकीका इन्चार्ज सई कुलबहादुर श्रेष्ठले जानकारी दिए ।
यसैगरी, हेटौंडाबाट ललितपुरको सातदोबाटो जोड्ने करिब ९० किलोमिटर सडकको विभिन्न स्थानमा गएको पहिरो पन्छाउन र बाइपास सडक निर्माण गरी संचालनमा ल्याउन करिब एक महिनाको समय लाग्ने भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।










