नारायणी नदीको बहाव ४४ वर्षयताको उच्च

हेटौडा न्युज
६ श्रावण २०७७, मंगलवार १३:३२
;

चितवन ।  नारायणी नदीको बहाव मङ्गलबार बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।

देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार सात सय ७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगस्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार तीन सय घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।

यसबीचको अवधिमा सन् २०१८ को वर्षामा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उहाँले जानकारी दिनुभयो । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । सन् १९६३ देखि अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सन् १९७४ यताको सबैभन्दा बढी पानी परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो ।

जलस्रोत
विज्ञ रायले भन्नुभयो, ‘४४ वर्षको अवधिमा नारायणी नदीमा पानीको बहाव मङ्गलबार बिहान सबैभन्दा उच्च भएको देखिन्छ ।’ जल विज्ञान विभागका वरिष्ठ जलविज्ञ विक्रम श्रेष्ठ कोशी पनि नारायणी नदीले खतराको तह नाघेको बताउनुहुन्छ । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलव ३ मिटर र आठ हजार चार सय ६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।

जलविज्ञ श्रेष्ठले मङ्गलबार पाँचदेखि सात घण्टा पानीको बहाव यही अवस्थामा रहने बताउनुभयो । बुधबारबाट क्रमशः घट्दै जाने उहाँको भनाइ छ । पहिलेका वर्षहरुमा ढिलो गरी मनसुन सक्रिय हुने गरेको भए पनि यस वर्ष छिटो मनसुन सुरु भएको थियो । गएको जाडो मौसम र प्रिमनसुनको समयमा औसतभन्दा बढी पानी परेका कारण नारायणी नदीका सहायक नदी, खोलाहरुमा पानीको बहाव बढ्न गएको छ । कतिपय ठाउँमा पहिरो जाँदा नदी, खोला थुनिएर फुट्ने गर्दा पनि तिनमा एक्कासी पानीको मात्रा बढ्न गएको उहाँको भनाइ छ ।

नारायणी नदीमा मर्स्याङ्दी, त्रिशूली, सेतीजस्ता ठूला नदीहरु मिसिएका छन् । मुग्लिनमा त्रिशूलीमा मर्स्याङ्दी, गाईघाटमा त्रिशूलीमा सेती मिसिएको छ भने देवघाटमा त्रिशूलीमा कालीगण्डकी मिसिएर नारायणी नदी बनेको हो । यी ठूला नदीहरुमा प्रशस्त साना नदी र खोलाहरु मिसिएका छन् । नारायणीको शिर क्षेत्रमा कास्की, स्याङ्जा, गोरखा, लमजुङ, रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला रहेका छन् ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार गएको २४ घण्टामा कास्कीमा एक सय १८ दशमलव ७ मिलिलिटर र गोर्खामा एक सय ४५ दशमलव ८ मिलिलिटर पानी मापन गरिएको थियो । त्यस क्षेत्रमा पानी बढी परेका कारण नारायणी नदीको बहाव उच्च भएको हो । नदी बढेसँगै यसको प्रत्यक्ष प्रभाव चितवन र नवलपरासी जिल्लामा पर्दछ । नारायणी नदी किनारका बस्तीमा पानी पसेपछि सोमबार साँझबाटै केही बस्तीलाई स्थानान्तरण गरिएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १६, २६ र २७ मा नारायणी नदीको पानी पसेपछि त्यहाँको बस्ती स्थानान्तरण गरिएको थियो । नारायणी नदीमा पछिल्ला वर्षहरुमा लगाइएको बाँधका कारण नदीको पानी बस्तीमा पस्नबाट धेरै हदसम्म जोगिएको स्थानीय बताउँछन् । नारायणीमा मिसिएको त्रिशूलीको बहाव उच्च भएर कटान गर्दा इच्छाकामनाको फिस्लिङमा दुई तले घरसहित तीन घर बगाएको थियो ।  रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*