एक्कासी खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरिए
बागलुङ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ । पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो ।
पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।
स्काभेटर चालक भने सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जनाएको छ । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन ।
अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।










