अर्को ग्रुपको रगत चढाएपछि सुत्केरीको मृत्यु, अस्पतालमा तनाब
धनुषा । जनकपुरको रामजानकी अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएको छ । अस्पतालले लापरवाही गरेर उपचार गर्दा ज्यान गएको दावी गरिएको छ । सो अस्पतालमा महोत्तरी गौशाला–११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएको हो ।
सुत्केरी महिलालाई ‘ओ’ पोजेटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजेटिभ ब्लड ग्रुपको रगत दिदा हिजो राति मृत्यु भएको परिवारजनको आरोप लगाएका छन् ।
उपचारको क्रममा शरीरमा रगत अभाव भएपछि ब्लड ग्रुप उल्लेख गरेर रगत लिन आफन्तलाई रेडक्रसमा पठाएकोमा दुईपोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदै गएपछि चेकजाँच गर्दा गलत ग्रुपको रगत प्रयोग भएको पत्ता लागेको थियो ।
अस्पताल प्रशासनले आफ्नो दोष नरहेको र रेडक्रसको कमजोरी रहेको बताउँदै आएको छ ।










