हेटौंडाको आइसोलेसन भरियो, कोरोना संक्रमित घर–घरमा

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार १३:५५
;

मकवानपुर । पछिल्ला केही दिनमा हेटौडामा कोरोना संक्रमितको संख्या बढेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमितको संख्या बढेसँगै हेटौँडाको एक मात्र आइसोलेसन वार्डमा बेडहरु भरिएका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा प्रदेशकै राजधानी हेटौंडामा कोरोनाका बिरामी राख्न समस्या परेको छ । हेटौंडाकै एक मात्र आईसोलेसन भरिएपछि कोरोना संक्रमितलाई घरमै राखिएको छ ।

बागमती प्रदेश सरकारसँगको सहकार्यमा हेटौं अस्पताल अन्र्तगत रहने गरी स्थापना गरीएको सो आईसोलेसनमा ५० बेडको क्षमता रहेको छ । हेटौंडा–४, कर्राको श्रमिक माध्यमिक विद्यालयको नयाँ भवनमा सुरुमा ३५ बेडको आइसोलेसन निर्माण गरिएको थियो, पछि सो आइसोलेसनको क्षमता वृद्धि गरी ५० बेडको बनाईयो ।

सो आइसोलेसनको क्षमताभन्दा बढी संक्रमित फेला परेपछि उनीहरुलाई राख्न समस्या देखिएको छ । आइसोलेसनमा ठाँउ अपुग भएपछि संक्रमितहरु जोखिम लिएर घरमा नै बस्न बाध्य भएका छन् ।

मंगलबार १३ जना कोरोना संक्रमित थपिएका थिए । उनीहरूलाई सहजसँग आइसोलेसनमा राखी उपचार गर्न सक्ने क्षमता राजधानीकै आइसोलेसनसँग नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

आइसोलेसनमा सोमबारसम्म ३४ जना कोरोना संक्रमित र १ जना शंकास्पद बिरामी भर्ना गरी राखिएको थियो । योसँगै हेटौँडामा सक्रिय संक्रमितको संख्या ४७ पुगेको छ ।

मंगलबार नै आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले १३ जनामध्ये ५ जना संक्रमितलाई जसोतसो व्यवस्थापन गरी भर्ना गरी राखेको बताए ।

उनका अनुसार मंगलबार थपिएका १३ जनामध्ये ८ जना कोरोना संक्रमितलाई आ–आफ्नै घरमा राखिएको छ । हेटौँडाको वडा ५ का ४ जना, वडा ४ का १ र वडा १० का ३ जना संक्रमितलाई घरकै आइसोलेसनमा राखिएको चौलागाईंले जानकारी दिए ।

हेटौँडामा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि आइसोलेसनका कर्मचारी तनावमा परेका छन् । आइसोलेसनमा बेड नबढाएसम्म आगामी दिनमा थपिएका संक्रमितलाई व्यवस्थापन गर्न झन् कठिनाइ हुने चौलागाईंको भनाइ छ ।

संक्रमितहरूले आइसोलेसनमा शौचालय, खानपानको व्यवस्थापन राम्रो नभएको गुनासो गर्दै आएका थिए । संक्रमितलाई शौच खुल्ला आकाशमुनि गर्नुपर्ने बाध्यता छ । पक्की शौचालयमा जाँदा अत्यधिक फोहोर र रातको समयमा बिजुली पनि नहुने समस्याले संक्रमित हैरानी खेप्दै आएका छन् ।

यसरी प्रदेशकै राजधानी रहेको हेटौंडामा आइसोलेसनको अभाव हुँदा स्थानीयहरुमा समेत जोखिम देखिएको छ । मुख्यमन्त्री कार्यालयकै आखा अगाडी रहेको सो आइसोलेसनको व्यवस्थापनमा तीन तहका सरकारले तत्पर्ता देखाउनु पर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*