चितवनको पुष्पाञ्जली अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु
चितवन । चितवन भरतपुरको पुष्पाञ्जली अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेको छ। अस्पतालले आज एक प्रस विज्ञप्ति जारी गर्दै अस्पतालमा ६१ वर्षीय कोरोना संक्रमित पुरुषको आइसियूमा उपचार भइरहेको जानकारी दिएको हो।
कोरोना संक्रमितको उपचारका लागि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउनुपर्ने सरकारको निर्णय अनुसार सो अस्पतालले संक्रमितको उपचार सुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर अस्पतालसँग समन्वयमा संक्रमितको उपचार सुरु गरिएको जनाइएको छ ।
साउन ३० गते कोरोना संक्रमण पुष्टि भएका चितवनको रत्ननगर–९ टिकौलीका ती पुरुष श्वासप्रश्वासमा समस्या भएपछि साउन २७ गते नै आइसियूमा भर्ना भएका थिए।
उनको दुवै फोक्सोमा निमोनिया भई भाइरल निमोनियाको रूपमा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ।

सरकारको निर्णयपछि ती संक्रमितको उपचारलाई निरन्तरता दिइने अस्पतालले जनाएको छ। अस्पतलाका अनुसार उनको अवस्था गम्भीर तर स्थिर रहेको छ।
संक्रमितको उपचारका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सकलगायत स्वास्थ्यकर्मीको क्वारेन्टाइन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको जनाइएको छ ।
ओपिडी तथा आन्तरिक सेवा पनि स्वास्थ्य निर्देशिका अनुसार संचालन गरिएको अस्पतालले जनाएको छ।










