तीन दिनअघि मृत्यु भएका ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि
जनकपुरधाम । धनुषामा तीन दिनअघि मृत्यु भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । ती पुरुषको मृत्यु पश्चात अस्पतालमै स्वाब संकलन गरी शव परिवारजनको जिम्मा लगाइएको थियो ।
परिवारले शव लिएर अन्तिम संस्कारसमेत गरिसकेको अवस्थामा आइतबार राति मृतक पुरुष कोरोना संक्रमित भएको पुष्टि भएको हो । प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै धनुषामा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।










