‘देशद्रोही’ म्यूजिक भिडियोप्रति बागमती गाउँपालिकाको भत्सर्ना

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १७:३३
;

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा छायङ्कन गरीएको देशद्रोही नामक म्यूजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको प्रति गाउँपालिकाले आपत्ति जनाएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै युट्यूबमा हालसालै सार्वजनिक भएको देशद्रोही नामक म्यूजिक भिडियोमा नेपालको राष्ट्रियता र पहिचानको झलक राष्ट्रिय झण्डा जलाइएको, जाती र साम्प्रदायबिच घृणा र द्वेष फैलाई गाली गलौच गरिएको भन्दै आपत्ती जनाएको हो ।

गाउँपालिकाले जारी गरेको विज्ञप्ति अनुसार यस्ता भिडियो सार्वजनिक हुनु निन्दनीय भएकोले त्यसप्रति भत्सर्ना गरेको छ ।

साथै सामाजिक सद्भावमा खलल पार्ने खालका क्रियाकलाप गर्ने जो कोहिलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न गाउँपालिका पूर्ण प्रतिवद्ध रहेको उल्लेख छ ।

भिडियोको छायांकन मकवानपुरको बागमती गाउँपालिका–३ स्थित सल्लेनीमा रहेको विष्णु आधारभुत विद्यालय आसपासको क्षेत्रमा भएको थियो ।

भिडियोमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला, शुसिल कोइराला, माधव नेपाल, पूर्व राजा ज्ञानेन्द्र शाह, राष्ट्र निर्माता पृथ्वीनारायण शाह लगायतको तस्वीर र नेपालको झण्डासमेत जलाइएको छ ।

प्रहरीले सो भिडियो खिच्ने एक जनालाई पक्राउ गरीसकेको छ भने अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*