कोरोना संक्रमितलाई कुखुरा व्यवसायी संघ मकवानपुरको अण्डा र मासु
मकवानपुर । कोरोना संक्रमितका लागि आवश्यक अण्डा र कुखुराको मासु व्यवसायीहरुले उपलब्ध गराउने भएका छन् । कुखुरा व्यवसायी संघ मकवानपुरले हेटौंडा–६, गौरीटारमा रहेको आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितहरुका लागि एक महिनासम्म प्रतिव्यक्ति प्रतिदिन दुईवटा अण्डा र हप्तामा दुई पटक कुखुराको मासु सहयोगस्वरुप उपलब्ध गराउने भएको हो ।
मंगलबार कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारी, उपाध्यक्ष प्रतिमा श्रेष्ठ, गोकुलनाथ पौडेलले आइसोलेसनमा पुगेर हेटौंडा–६ का वडाअध्यक्ष अर्जुन चौलागाईं तथा हेटौंडा अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रकाश पौडेललाई अण्डा र मासु उपलब्ध गराएका थिए ।
संघले करिब १४ हजार रुपैयाँ बराबरको कोरोना संक्रमितको सरसफाइमा प्रयोग हुने विभिन्न सामग्री समेत आइसोलेसनलाई प्रदान गरेको छ ।
‘हामीले एक महिनाका लागि करिब एकलाख ५५ हजार रुपैया“ बराबरको अण्डा र मासु उपलब्ध गराएका छौं । हामीले अण्डा र मासु आइसोलेसनसम्म ढुवानी गर्ने व्यवस्था मिलाएका छौं ।’, संघ अध्यक्ष अधिकारीले अर्को महिना आइसोलेसनसंगको सहकार्यमा अण्डा र मासु थप उपलब्ध गराउन सकिने बताए ।
‘संक्रमितहरुलाई पौष्टिक खानेकुराको आवश्यकता पर्ने थाहा पाएपछि हामीले चिकित्सकहरुस“गको छलफलपश्चात् सहयोग उपलब्ध गराएका हौं ।’, उनले बजारमा कुखुराको मासु खान नहुने अफबाह फैलिएको कारण आफूहरुले डाक्टरसँग सल्लाह गरेको बताए ।










