भारत र चीनका सैनिकबीच लद्दाखमा झडप
काठमाडौं । केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेका भारत र चीनका सैनिक लद्दाखमा पुनः झडप भएको छ ।
भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका कर्नेल आमन आनन्दले भनेका छन्, अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको यथास्थितिलाई परिवर्तन गर्न सैन्य उक्साहट गरेको थियो। जसलाई भारतीय सेनाले रोकेको छ ।
उनले चिनियाँ पक्षले उक्त क्षेत्रमा एकपक्षीय रूपमा तथ्यहरू परिवर्तन गर्न खोजेको पनि आरोप लगाएका छन्।
गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
चीन र भारत दुबैले अहिले सैनिक र कूटनीतिक माध्यमबाट विवाद समाधानका लागि वार्ता गरिरहेका छन् ।
यही बीचमा शनिबार र आइतबार रातिका झडप भएका हुन्।
भारतीय सञ्चारमाध्यमहरूले सन् १९९९ को कार्गिल युद्धपछि पहिलो पटक लद्दाखमा चिनियाँ सैनिकसँग तनाव तीव्र भएको बताएका छन्। चीन र भारतबीच ४ हजार किलोमिटरभन्दा बढी सीमा जोडिएको छ । तीमध्ये कतिपय ठाउँमा अहिले पनि सीमा एकिन भएको छैन ।
दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रोक्न खोजेको थियो ।
एजेन्सी










