कोरोना रोकथाम गर्न स्थानीय तह र स्वास्थ्य संस्थालाई १८ करोड २६ लाख अनुदान
मकवानपुर । बागमती प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि स्थानीय तहहरु, स्वास्थ्य संस्थाको स्तरोन्नति तथा व्यवस्थापन गर्न १८ करोड २६ लाख रकम अनुदान उपलब्ध गराउने भएको छ ।
बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सहयोग कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो ।
कोषबाट काठमाडौंको कीर्तिपुर नगरपालिकालाई १० लाख, शंखरापुर नगरपालिकालाई २० लाख, बुढानीलकण्ठ नगरपालिकालाई २० लाख, तारकेश्वर नगरपालिकालाई १० लाख, कागेश्वरी मनोहरा नगरपालिकालाई १५ लाख, चन्द्रागिरी नगरपालिकालाई १० लाख, टोखा नगरपालिकालाई २० लाख, मकवानपुरको मनहरी गाउँपालिकालाई १० लाख, काभ्रेको धुलीखेल नगरपालिकालाई १ करोड, नमोबुद्ध नगरपालिकालाई १५ लाख, चितवनको भरतपुर महानगरपालिकालाई १ करोड, रत्ननगर नगरपालिकालाई ५० लाख, दोलखाको भिमेश्वर नगरपालिकालाई १ करोड, धादिङ अस्पताललाई ७५ लाख, हेटौंडा अस्पताललाई ५० लाख, चौतारा अस्पताललाई २२ लाख, भक्तपुर अस्पताललाई ५० लाख दिने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
ललितपुरको आनन्द वन अस्पताललाई १५ लाख, सिन्धुली अस्पताललाई ३० लाख, त्रिशूली अस्पताललाई ३० लाख, रामेछाप अस्पताललाई ९५ लाख रुपैयाँ उपलब्ध गराइने मन्त्री ढुंगेलले बताए । प्रदेशका अस्पतालहरुका लागि स्वास्थ्य सामग्री खरिदका गर्न स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ७ करोड ६५ लाख, ललितपुरको बज्रबाराही अस्पताललाई २५ लाख, मकवानपुर र काठमाडौंका आयुर्वेद अस्पताललाई ५र५ लाख, चितवन, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला आयुर्वेद अस्पताललाई ५/५ लाख, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट र धादिङका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई ३÷३ लाख, रसुवाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र १ लाख र स्वास्थ्य कार्यालय काठमाडौंलाई ५० लाख दिने निर्णय भएको छ ।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री भौतिक पुर्वाधार विकाममन्त्री रामेश्वर फुयाँल, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बागमती प्रदेशका नेता इन्द्र बानियाँ, प्रदेश नीति तथा योजना आयोगका काबा उपाध्यक्ष श्याम बस्नेत, प्रदेशका प्रमुख सचीव डा. मानबहादुर बिक, प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठ र इन्द्रमाया गुरुङ सहभागी रहेको थियो ।










