युवक मृत्यु प्रकरणः एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । हिरासतमा रहेका एक युवकको मृत्यु भएको घटनामा तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा एसपी खड्कासहित तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञान कुमार महतो, प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन कुमार सिंह, प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुर्दा दर्ता भएको हो ।
बुधबार विजयरामको बुबा पनिलाल महराचमारले एसपी खड्कासहित ६ जनाविरुद्ध यातना तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।
गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजयरामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको थियो ।










