बजारबाट बचत संकलन नगर्न सहकारी संघको आग्रह
मकवानपुर । जिल्ला सहकारी संघ मकवानपुरले कोरोना संक्रमण न्युनिकरणका लागि प्रशासनको निर्णय अनुसार ५० प्रतिशत कर्मचारीहरुको उपस्थितिमा दैनिक कार्य संचालन गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरीएको निषेधाज्ञा अवधिभर जिल्लाभरिका सबै सहकारीहरुले सामुदायिक संक्रमण न्यूनीकरणका लागि ५० प्रतिशत कर्मचारीहरुको उपस्थितिमा समुदायलाई सेवा दिन संघले जिल्लाका सबै सहकारीहरुलाई अनुरोध गरेको हो ।
संघले एक सूचना जारी गर्दै जिल्ला सुरक्ष समितिको निर्णय अनुसार सहकारीहरु दिउँसो २ बजे सम्म मात्र खोल्न तर बजार प्रतिनिधि मार्फत दैनिक गरिने बचत संकलन नगर्न आग्रह गरेको छ । दैनिक बजार प्रतिनिधिमार्फत बचत संकलन कार्य गर्दा संक्रमणको जोखिम उच्च हुने भएकोले निषेधाज्ञा अवधिभर सो कार्य नगराउन अनुरोध गरेको हो ।
ज्वरो लगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका कर्मचारीलाई पिसिआर चेक गराउन साथै रिपोर्ट नेगेटिभ आएपछि मात्र कार्य गर्न गराउन भनेको छ ।
साथै यस अघि पनि सूचना मार्फत गरिएको अनुरोधलाई सहकारीहरुले पालना गरेकोमा संघले सबै सहकारीहरुलाई धन्यवाद व्यक्त गरेको छ ।












