आत्महत्या रोकथाममा हाम्रो भुमीका

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार ०९:४७

जब कुनै व्यक्तिले आफ्नो जीवनआफैं समाप्तपार्ने योजना बनाउँछ वा विभिन्न माध्यमबाट आफ्नो जीवन आफैंलाई आफै समाप्त गर्न खोज्छ भने त्यो नै आत्महत्या हो ।

परिवार, समाज र साथी भाइले आफ्नो समस्यालाई नबुझेको महसुश गरेमा र समस्या समाधानका कुनै उपाय नदेखेको अवस्थामा आफुलाई निरर्थक ठानी अन्तिम उपायको रुपमा आत्महत्या गर्न बाध्य हुन्छन ।

सेप्टेप्बर १० अर्थात आत्महत्या रोकथाम विरुद्धको दिवस, “working together to prevent suicide”

(आत्महत्या रोकथाममा सबैको सहकार्य) भन्ने मुल नाराका साथ संसारभर मनाईदै आएको छ । आत्महत्या रोकथाम विश्वभरी नै एउटा चुनौतिको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष करिब ८ लाख मानिसको मृत्यु आत्महत्याबाट हेने गरेको छ । जुन संख्या प्रत्येक ४० सेकेण्डमा एउटा आत्महत्या बराबर हुन्छ ।

प्रत्येक आत्महत्याले १ सय ३५ व्यक्तिहरुलाई प्रभाव पार्दछ भन्ने कुरा विभिन्न अध्ययनहरुले पनि देखाएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ हजार ३ सय ४६ व्यक्तिले आत्महत्याबाट ज्यान गुमाएका थिए । जसमध्ये २ हजार ८ सय ५४ पुरुष, २ हजार २ सय ४२ महिला, १ सय ११ बालक र १ सय ३९ बालिका रहेका छन् ।

नेपालमा सबैभन्दा बढी ३ हजार ८ सय ८३ व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् भने दोश्रो स्थानमा विष सेवनबाट अत्महत्या गर्नेको संख्या रहेको छ । उक्त संख्या प्रहरीमा दर्ता भएको वा प्रहरीको जानकारीमा आएको संख्या मात्र हो ।

वास्तविकतामा यो संख्या अझ बढी हुन सक्छ । अध्ययन अनुसार विश्वमा सबैभन्दा बढी आत्महत्याको प्रयास महिलाहरुले गरेको पाइएको छ भने आत्महत्याबाट मृत्यु हुनेको संख्या पुरुषको बढि देखिएको छ । यसको प्रमुख कारण भनेको आत्महत्याको मजबुत योजना पुरुषहरुबाट हुने गरेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्युको दोश्रो प्रमुख कारण हो भने नेमालमा प्रजनन् उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेका पाईएको छ । धेरै महिलाहरु लैङ्गिक विभेदमा आधारित हिंसाका कारण आत्महत्या गर्न वाध्य भएको पाइन्छ ।

नेपालमा कोरोना संक्रमण न्युनिकरणका लागि गरीएको लकडाउनको अवधिभर मात्र १ हजार १ सय ५ जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेका छन् । यो संख्या हाल निषेधाज्ञाको अवधिमा पनि उत्तिकै बढिरहेको तथ्याङ्कले देखाएको छ । आत्महत्याको प्रमुख कारण नै डिप्रेसन हो ।

विश्वमा आतङ्क मच्चाइरहेका माहामारी कोभिड–१९ को कारण धेरै व्यक्तिहरुले आफ्नो रोजगारी गुमाउनु पर्यो व्यपार व्यवासय चौपट बनिरहेको छ । सबै जना डर, त्रासमा छन् । यस किसिमका लक्षणहरुले पनि आमव्यक्तिहरुको डिप्रेसनको तह बढिरहेको हुन सक्छ ।

अंग्रेजीमा एउटा भनाई छ “Every emergencies are stressful” तसर्थ पनि हालको अवस्थामा आत्महत्याको घटनाहरु ब्ढिरहेको हुन सक्छ । काेिभड–१९ कहिले सकिन्छ होला भन्ने अनिश्चितताले पनि स्वभाविक रुपमा तनाव दिइरहेको छ । यो अवस्थामा व्यक्तिले आफ्नो, परिवारको आधारभुत आवश्यकताहरु समेत पुरा गर्न सकिरहेका छैन्न । जसले गर्दा उनीहरु तनावमा हुन्छ ।
आत्महत्याका घटनाहरु अन्य कारणहरुले पनि हुन सक्दछ । जस्तै आवेगमा आएर, उत्सुकताको कारणले तथा परिक्षामा असफल, प्रेममा धोका आदी । र पनि आत्महत्याको प्रमुख कारण डिप्रेसन नै हो ।

आफैले पनि म डिप्रेसनमा गएको हो की होइन भन्ने पत्ता लागउन सजिलै सकिन्छ । जस्तो की जुन कुराहरुले तँपाईलाई एकदम खुसी दिन्थ्यो त्यही कुराहरु आजभोली पटक्कै मन पर्दैन, झर्को लागेर आउछ । जस्तै साथीभाइ भेट्दा मन परेको खाना खाँदा, मन परेको ठाउँ घुम्दा, आफिसको काम गर्दा घरको दैनिक क्रियाकलाप गर्दा आदि सामन्य खालको काम गर्दा पनि शक्ति नै नभए जस्तो कसैले धकेलेर मात्र संभव भए जस्तो शक्तिहिन महशुस हुन्छ ।

यसको साथसाथै खाना र निन्द्राको अवस्थामा पनि गढवढी हुने भएकोले जस्तै निन्द्रा नलाग्ने, रातमा अचानक व्यूँझिने, खानामा अरुचि जसको कारणले तौल घट्दै जाने वा खाना धेरै खाने अन्य गुलियो कुराहरु बढि खाने र तौल बढ्दै जाने जस्ता लक्षणहरु देखिएमा मलाई पक्कै पनि केहि भएको होला भनेर अनुमान लगाउन सकिन्छ ।

अर्कोे महत्वपुर्ण लक्षणको रुपमा तँपाईलाई तँपाईको परिवार, आफन्त वा साथीभाइहरुले फिडब्याक दिईरहेको हुन्छ जस्तो कि तिमी आजकाल पहिलाको जस्तो छैनौं,ै आउजाउँ गर्दैनौं, आफ्नो साथीभाइहरुसँग समय विताएको पनि देख्दिन, किन आजकाल रमाइलो गर्दैनौं ? अनुहारमा पनि मलिनता, नैराश्यता देखिन्छ आदी जस्ता कुराहरु फिडब्याकको रुपमा पाउँदा पनि साँच्चै मलाइ केही भएको छ भनेर अनुमान गर्न सक्छौ ।

भनिन्छ आत्महत्या गर्नेे अन्तिम अवस्थामा पुगेको व्यक्तिले पनि एकचोटी कतै मेरो बाँच्ने आधारहरु पो छ की भनेर सोच्ने गर्दछन् तसर्थ ति आधारहरु तँपाई हाम्रो निश्वार्थ सहकार्य, हौसला, भावनात्मक सहयोग अथवा यसलाई उपचारको आवश्यकता छ भन्ने भावना जगाउन सक्नु नै आत्महत्या रोकथाममा तँपाईको पनि योगदान रहनु हो ।

आत्महत्या व्यक्तिको कमजोरीका कारण हुने नभएर अनुवांशिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारणहरुले हने गर्दछ । ९० प्रतिशत भन्दा बढी आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारणले हुने गरेको अनुसन्धानले देखाएको छ । खतराका सुचक, जोखिम र सुरक्षाका उपायहरुको साथै स्वःहेरचाह आदीको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । उसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै सहयोग पुर्याउन सक्दछ ।

आत्महत्या समस्याको समाधन पटक्कै होईन यो त केबल आफ्ना प्रियजनहरुलाई दुःख,चोट पुर्याउने कार्य मात्र हो । म बुझ्न सक्छु कि तँपाई अहिले ठुलो समस्यामा हुनुुहुन्छ तर मलाई विश्वास गर्नुस, तँपाइको समस्या अस्थायी मात्र हो तर मृत्यु त स्थायी हुन्छ । यदि तँपाई मलाई विश्वास गर्नुहुन्छ भने आउनुस् तँपाई र म मिलेर समस्याको समाधान खोजौं ।

आत्महत्याका संभावित लक्षणहरुलाई सामान्य व्यक्तिहरुले पनि पहिचान गर्न सकिन्छ । बारम्बार निराशापन, एक्लोपन महशुस हुनु, लागुऔषध र मादकपदार्थ सेवन बढ्दै जान्छ, निरन्तर छट्पटि र व्याकुलता बढेको महसुस हुन थाल्छ, निन्द्रामा गडबडी र भावनात्मक उतार चढाव हुन्छ साथै आत्महत्या यसरी गर्छु भन्ने खालको योजना बनाउनु, सामाजिक संजालहरुमा आत्महत्या गर्ने विचार, योजना तथा निराशाजनाक अभिव्यक्तिहरु प्रकट गर्नु, भविष्यप्रति निराशापन देखाउनु साथै चाँडो रिसाउनु र आफ्ना निजी सरसामान अर्कालाई दिनु र सामाजिक क्रियाकलाप (भोज र भेला), साथीभाई आदिबाट टाढिनु आदि जस्ता लक्षणहरु देखिएमा तुरुन्त मनोचिकित्सा सहयोग, मनोवैज्ञानिक सहयोग वा मनोसामाजिक मनोविमर्शकर्ताको सहयोगको पहुँच उपलब्ध गराउनु पर्दछ ।

कहिले काही आत्महत्याकोबारेमा गलत धारणाहरुको प्रभावले पनि यसको रोकथाम गर्न चुनौति दिईरहेको छ । जस्तोकी अरुको ध्यानाकर्षण गर्न मानिसहरु आत्महत्याबारे कुरा गर्छन । आत्महत्या सधै आवेगमा गरिन्छ । कमजोर आत्मबल भएका मानिसले मात्र आत्महत्या गर्दछन् । बालबालिकाहरुले आत्महत्याको प्रयास गर्दैनन् ।

आत्महत्याको प्रयास र सोच केही मानिसहरुले मात्र गर्छन् आदि जस्ता गलत बुझाइले गर्दा पनि कतिपय यसका लक्षणहरु थाहा पाउँदा पनि हामी वस्ता गर्दैन । ख्याल ठट्टा गरेको सम्झन्छौ जसको कारणले समयमा उपचार पाउनु पर्ने व्यक्तिहरु उपचारबाट बंचित मात्र भएका छैनन् । आत्महत्याको शिकार समेत भएका छन् ।

आत्महत्याको उपचार संभव छ । यसको रोकथाम गर्न सकिन्छ यो समस्याबाट निको भएको व्यक्तिहरुको हजारौं सफलताको कथाहरु छन् । यसका लागि व्यक्ति स्वयंले यी कुराहरुमा ध्यान दिनु पर्दछ । जस्तै मनोपरामर्श वा मनोचिकित्सा सेवा लिने, आत्महत्याको सोचबारे मनमिल्ने साथी वा व्यक्तिलाई बताउने, आवश्यक उपचार सुरु गर्ने र निरन्तरता दिने, साथीहरु वा सहयोगी व्यक्तिहरु बढाउदै जाने, परिवारको सदस्य वा संघ–संस्थाहरुसँग सम्पर्क समन्वय बढाउने साथै सामाजिक, अध्यात्मिक र धार्मिक क्रियाकलापमा सहभागी हुने, संभावित लक्षणहरुको पहिचान गर्ने, मानसिक रुपमा स्वास्थ्य रहन स्वःहेरचाहको अभ्यास गर्ने, उपलब्ध सेवाहरुको जानकारी र पहुँचमा रहने, आत्महत्याबारे खुलेर कुरा गर्ने आदि ।

आत्महत्याको रोकथाममा परिवार, समाज तथा साथीभाईहरुको पनि उत्तिकै भुमिका हुन आवश्यक छ । परिवार, समाज र साथीहरुले समस्या भएका व्यक्तिसँग माया र सद्भावपूर्ण व्यवहार गर्ने, राम्रोसँग उसको कुरा सुनिदिने र आत्महत्याको लक्षणहरु देखाएमा वेवास्ता गर्नु हुँदैन साथै दैनिक कार्यमा सक्रिय रहन सहयोग गर्नु पर्दछ ।

सरकारी तवरबाट मानसिक स्वास्थ्य तथा मनोसामाजिक सु–स्वास्थ्यको प्रवद्र्धन गर्न उचित नीति निर्माण तथा प्रभावकारी कार्यन्वयन गर्नु पर्दछ । सरकारकाा नीति तथा कार्यक्रम अन्र्तगत स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुमा मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुलाई प्राथमिकताका साथ समावेश गर्नु नितान्त आवश्यक छ । प्रहरि प्रशासनले आत्महत्याको संवेदनशिलतालाई मध्यनजर गर्दै घटनाहरुको छानविन गर्नु पर्दछ ।

आत्महत्याको सोच एवं प्रयास गरेका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श प्रदान गर्नु पर्दछ साथै हामी सबैले आत्महत्या सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी सबैमा आत्महत्या एउटा रोग हो र समयमा उपचार गरे निको हुन्छ र समस्या भएका व्यक्तिहरुलाई सबैले सकरात्मक नजरले हेर्नु पर्दछ भन्ने भावनाको विकास गर्न सकेमा साँच्चै आत्महत्या रोकथाममा बल पुग्नेछ ।
धन्यवाद !
मनकुमार गुरुङ
मनोविमर्शकर्ता, प्रदेश नं. १

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*