नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढ्यो
काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएपछि नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढेको छ ।
बेलायतको प्रसिद्ध जर्नल लान्सेटमा प्रकाशित रिपोर्टले लकडाउन सुरु भएयता मृत शिशु जन्मिने संख्या ह्वात्तै बढेको देखाएको हो ।
लकडाउन सुरु हुनुअघिसम्म प्रतिहजार शिशु जन्मिदा नेपालमा १४ मृत शिशु जन्मिने गरेका थिए ।
स्विडेनको उप्पशाला विश्वविद्यालयका आशीष केसीको नेतृत्वमा गरेको अध्ययनले नेपालमा मृत शिशु जन्मिने संख्या ५० प्रतिशतले बढेको देखाएको हो । ती शिशुहरुको आमाको पाठेघरभित्रै मृत्यु हुने गरेको रिपोर्टले देखाएको छ।
केसीको समूहले नेपालका नौ वटा अस्पतालमा भर्ना भएका २० हजार सुत्केरीहरुमाथि अध्ययन गरेर त्यस्तो निष्कर्ष निकालेको हो ।
लकडाउनअघि एक सातामा औसत १२ सय ६१ सुत्केरी हुने गरेका अस्पतालमा लकडाउनपछि यो संख्या घटेर ६ सय ५१ मा पुगेको थियो ।
अस्पतालमा आउन नपाएर घरमै सुत्केरी गराउनेहरुमा मृत बच्चा जन्मिने संख्या अझै बढी हुनसक्ने बताइएको छ ।










