ट्राफिक हेरेको–हेर्यै, हेटौंडामा भौतिक दूरी बिनै सवारी संचालन
मकवानपुर । लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात संचालनमा आउन थालेका छन् । मकवानपुरमा पनि लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि बन्द रहेका सार्वजनिक यातायात संचालन हुन थालेका हुन् ।
सरकारले असोज १ गतेबाट सार्वजनिक यातायात संचालन खुल्ला गरेपछि लकडाउन र निषेधाज्ञाले अस्तव्यस्त र बन्द रहेको यातायात संचालन हुन थालेका छन् । सार्वजनिक यातायात संचालनका लागि सरकारले भौतिक दूरी कायम राखि, सुरक्षाका मापदण्ड अपनाउनु पर्ने निर्णय गरेको छ ।
मकवानपुरमा संचालनमा आएका छोटो तथा लामो दुरीको सवारी साधनले सामान्य भौतिक दूरीसमेत कायम नगरेको पाइएको छ । क्षमता भन्दा आधा यात्रु राख्नु पर्ने मापदण्ड छ तर सो मापदण्डलाई लत्याउदै उनीहरु सवारी संचालन गरिरहेका छन् ।

आज बिहानको समयमा ट्राफिक प्रहरी कै आँखा अगाडी सिट क्षमता भन्दा बढी यात्रु राखेर सवारी संचालन गरिरहेका छन् । बढी भाडा असुल्दै संचालनमा रहेका सवारीसाधनहरुलाई समेत प्रहरीले देखेनदेखेको गर्ने गरेको छ । हेटौंडामा संचालनमा रहेका अधिकांश म्याजिक–माइक्रो, अटोहरुले यात्रुहरुलाई उभ्याएर यात्रा गराइरहेका छन् ।

यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालले भर्खरै मात्र संचालनमा आएका सार्वजनिक यातायातको चेकजाँच परी मापदण्ड पूरा गरे नगरेको हेर्ने बताए । फिल्डमा खटिएका प्रहरीलाई सोहि अनुसार निर्देशन गरिएको र भौतिक दूरी कायम नगरी सुरक्षा मापदण्ड नअपनाउने सवारीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही गर्ने उनले बताए ।
प्रहरीको आँखा छलेर यात्रु ओसार्ने सवारीलाई समेत प्रमाणको आधारमा कारवाहीको दायरामा ल्याउने उनको भनाई छ । सरकारको निर्देशन अनुसार संचालनमा नभएका सबै सवारीलाई फिल्डमा रहेकै प्रहरी कर्मचारीले नियन्त्रणमा लिने समेत उनले बताए ।
सरकारले सम्पूर्ण स्वास्थ्य सुरक्षा उपाए अपनाएर मात्रै सवारी संचालनको अनुमति दिएको छ । सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्ने व्यवस्था गरिएको छ ।










