जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा दुई जना पक्राउ
कास्की । जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका ६, हल्लन चोकबाट चन्दा संंकलन गरिरहेको अवस्थामा उदयपुर त्रियुगा नगरपालिका ७, मोतीडाँडा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका ७, मनमैंजु बस्ने रविन केसी भनिने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेवी गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका १६ गोंगबु बस्ने २२ वर्षीय रामकुमार डाँगी पक्राउ परेका हुन् ।
जबरजस्ती चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूले चन्दा बापत लिएको नगद एक लाख रुपैयाँ, चारथान मोबाइल, एकथान मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको एकथान नगदी रसिद बरामद गरिएको जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।










