अटो तथा ई–रिक्साले भाडा दर सूचि टास्नु पर्ने
मकवानपुर । हेटौंडामा संचालनमा रहेका अटो तथा ई–रिक्सा तथा मझौला यातायातहरुले भाडा दरको सूचि टास्नु पर्ने भएको छ । ट्राफिक प्रहरी कार्यालय मकवानपुरको पहलमा सरोकारवालाको सहभागितामा भएको छलफलले हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका अटो तथा ई–रिक्सा तथा मझौला यातायातहरुमा यात्रुहरुका लागि भाडा दरको सूचि टाँस्ने निर्णय गरिएको हो।
बजार क्षेत्रमा संचालनमा रहेका अटो तथा ई–रिक्सा तथा साना मझौला यातायातहरुले मनलाग्दी भाडा उठाएर यात्रुलाई ठग्ने गरेको गुनासो बढेपछि भाडादर सूचि टाँस्ने निर्णय गरिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भाडा दरको सूचि टाँस्नका लागि ३ दिनको समय सिमा तोकिएको र ३ दिन भित्र सो निर्णय पूर्ण रुपमा कार्यान्वयन नगरे सम्बन्धित यातायात संघ संस्थाको रोहवरमा आवश्यक कार्वाही प्रकृया अघि बढाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रकास पाण्डेले बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा सोमबार स्थानिय जनप्रतिनिधि, सरोकारवाला र अटो तथा ई–रिक्सा तथा मझौला यातायात सङ्घका पदाधिकारीहरुको सहभागितामा छलफल भएको थियो ।










