मापदण्डभित्र रहेकालाई ढुंगा, बालुवा उत्खनन् गर्न दिइने जिसस मकवानपुरको निर्णय
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरले जिल्लामा स्थापित ढुंगा गिट्टी बालुवाको उत्खनन् कार्यलाई ऐन कानूनको मापदण्डभित्र प्रयोग गर्नेलाई मात्र संचालनको लागि अनुमति दिने निर्णय गरेको छ ।
अनुरुप भए नभएको अनुगमन गर्न र जिल्लाका सर्वसाधारण नागरिकको निजी आवास गृह र विकास निर्माणका पूर्वाधार निर्माणका लागि आवश्यक गिट्टी बालुवा सहज ढंगबाट आफूर्ति गर्न स्थानीय पदाधिकारीहरुलाई सजगताका साथ अनुगमनमा पठाउने र थप मार्गनिर्देशनको लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।
समितिको आज बसेको बैठकले जिल्लामा रहेको सरकारी प्रति जग्गा, सार्वजनिक चौतारा, गौचरण र पानी घाट र सार्वजनिक जग्गाहरुलाई संघीय सरकारको मार्ग निर्देशन प्राप्त भए बमोजिम स्थानीय निकायले ऐन कानूनको परिधीभित्र रहेर जग्गाको रेखदेख र स्वामित्व ग्रहण गर्न अधिकार प्राप्त भए बमोजिम अब आ– आफ्नो कार्यक्षेत्र विस्तार गर्नेसमेत निर्णय गरेको छ ।
त्यसैगरी मकवानपुरका १० वटै स्थानीय तहका कोभिड – १९ का संक्रमित विरामीहरुलाई तत्काल भइरहेको आइशोलेशन कक्षबाट उपचार सेवाको तत्काल भइरहेको प्रगतीको समिक्षा गरिनुको साथै कोरोना संक्रमित विरामीहरुलाई थप उपचारमा सेवा पुर्याउन स्थानीय गाउँपालिका र नगरपालिकाहरुले थप आइशोलेसन कक्षको स्थापना गर्ने र वडा – वडामा पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्ने दर बढाउँदै लैजाने निर्णय गरिएको पनि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।
बैठकमा मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थिति रहेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।










