बगरमा अचेत भेटिएकी मकवानपुरकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि

हेटौडा न्युज
५ मंसिर २०७७, शुक्रबार ०९:०४
;

मकवानपुर । मकवानपुरमा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बागमती गाउँपालिका–७ लामिटारमा घरबाट करिब २ सय मिटरको दुरीमा रहेको मनसायी खोला किनारमा अचेत अवस्थामा भेटिएकी बालिकाको बलात्कार पछि हत्या भएको प्रहरीले जनाएको हो ।

बुधबार साँझ बुबाआमासँगै छिमेकीको पूजामा गएकी बालिकाको बलात्कारपछि ढुंगाले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बालिका रुविना पाख्रिनको राति ८ बजेको समयमा हत्या भएको हो ।

बालिकालाई ती किशोरले बोकेर लगी मनसायी खोलाको बगरमा बलात्कार गरेका थिए । बालिका हराएपछि खोज्ने क्रममा स्थानीयले बगरमा रगताम्य अवस्थामा निर्वस्त्र भेटेका थिए ।

‘गाउँमा पूजा भइरहेको थियो, आमाबुबाबाट बालिका हूलमूलमा हराइन्,’ स्थानीय छिरिङ लामाले भने, ‘डेढ घण्टापछि नजिकको खोला किनारमा रगताम्य अवस्थामा भेटिइन् ।’ लामाका अनुसार बालिका हराएपछि ती किशोरले नै शव भेटाएका थिए । ‘जसले बलात्कारपश्चात् हत्या गरे उनैले बालिकाको शव भेटियो भनेर हल्ला गरे,’ लामाले भने ।

किशोर जनता उच्च माविको कक्षा ९ मा अध्ययनरत छन् । स्थानीय शिक्षक विवेक तामाङका अनुसार पछिल्लो समय उनी मदिराका साथै लागूपदार्थ दुर्व्यसनमा फसेका थिए । प्रारम्भिक बयानमा उनले बालिकालाई बलात्कार गरेको स्विकारेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । ‘छिमेकमा पूजा भइरहेको अवस्थामा बालिकालाई घर जाऊँ भनेर फकाएर बगरमा लगेका रहेछन् । हामीले पक्राउ गर्दा उनले मादक पदार्थ सेवन गरेका थिए,’ उनले भने ।

बालिकाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । ‘घटनामा संलग्न भएको आशंकामा दुई जनालाई राति नै पक्राउ गरेका थियौं । एक जनाको मात्र संलग्नता देखियो,’ उनले भने, ‘बालिकालाई ढुंगाले समेत हानेको पायौं, घटनास्थलमा भेटिएको ढुंगामा रगत लत्पतिएको छ ।’ बालिकाको शरीरका विभिन्न भागमा ढुंगाले हानेर हत्या गरी करिब ४० फिट टाढा लगेर शव बगरमा लुकाएको पाइएको रानाले बताए ।

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा भेटिएका मृतक बालिकाका बुबा शेरबहादुर पाख्रिनले घटनाको निष्पक्ष छानबिनको माग गरे । ‘छोरीको हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्छ । मेरो कलिलो छोरीलाई बलात्कारपछि ढुंगाले हानेर मारियो,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*