विद्युतीय सवारी संचालनको तयारीमा बागमती प्रदेश सरकार
मकवानपुर । बागमती प्रदेश सरकारले केहि महिना भित्रै विद्युतीय सवारीसाधन संचालन गर्ने जनाएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशको काठमाडौंलगायत विभिन्न सहरहरुमा केही महिनाभित्रै विद्युतीय सवारीसाधन संचालन गर्ने प्रदेश सरकारले गृहकार्य सुरु गरिसकेको बताएका हुन् ।
मन्त्री फुँयालले संचारकर्मीसँग कुराकानी गर्दै प्रदेश सरकार विद्युतिय सवारीसाधन संचालनको तयारीमा लागेको बताएका हुन् । उनले भने बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको हिजो बुधबार बसेको बैठकले प्रदेशमा यातायात व्यवस्था संचालन गर्ने अध्यादेश २०७७ स्वीकृत गरेको छ ।
अध्यादेश स्वीकृत भएसंगै प्रदेशको १३ जिल्लाको १ सय १९ स्थानीय तहहरुमा विद्युतीय सवारी साधन संचालनको लागि चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको मनत्री फुँयालले बताए ।
उनले तत्काल प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्ड गठन तथा उक्त बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्ययमबाट नियुक्ती गर्ने प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिए ।
मन्त्री फुँयालले विद्युतीय सवारी साधनलाई तत्कालै संचालन गर्ने प्रक्रियालाई सहजिकरण गर्न नेपाल विद्युत प्राधिकरण, नगर विकास कोष, स्थानीय तहसंग बागमती प्रदेश सरकारले समन्वय गरी प्रक्रिया अघि बढाइसकिएको पनि स्पष्ट पारे ।
उनले प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ्, चितवन मकवानपुरलगायत अन्य सहरमा विद्युतीय साधन संचालनको लागि चार्जिङ् स्टेशनको लाईन विस्तार गर्न प्रदेश सरकारले नेपाल विद्युत प्राधिकरणसंग सहकार्य भइरहेको र छिट्टै ती सहरहमा विद्युतीय लाइन विस्तार हुने विश्वास व्यक्त गरे ।
मन्त्री फुँयालले त्रिभुवन राजपथ एवम् नौबिसे मुग्लिन सडकखण्डमा पनि बिद्युत चार्जिङ् स्टेशन निर्माणको लागि विद्युत प्राधिकरणमार्फत सर्वे भइरहेको र कहाँ, कहाँ स्टेशन राख्न आवश्यक छ तथ्याङ्क संकलन भइरहेको पनि बताए ।










