हेटौंडाको स्मारकमा आदिवासी जनजाति संग्रहालय स्थापना गरिने

हेटौडा न्युज
१६ मंसिर २०७७, मंगलवार १३:२३
;

मकवानपुर । हेटौंडाको शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा रहेको शहिद स्मारकमा विभिन्न संरचनासहित आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको हो ।

हाल संग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको शहिद स्मारक विकास समितिले जनाएको छ । मकवानपुरका ८ गाउँपालिका, १ नगरपालिका र १ उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिको भेषभुषा, रीतिरिवाज, धर्म संस्कृति झल्कने गरी संग्राहलय स्थापना गरिने भएको हो ।

साथै उनीहरुले प्रयोगमा ल्याएका भाँडावर्तन र औजारहरुसमेत संग्रहालयमा राखिनेजनाइएको छ ।

स्मारकको मनमोहक दृष्य अवलोकनका लागि आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि थप विशेष पाटोका रुपमा संग्रहालय बन्ने समितिको अपेक्षा रहेको छ ।

स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी शहीदको जीवनी र तिनले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानबारे सामग्री पनि राखिने भएको छ ।

शहीद स्मारकमा एउटै ठूलो ढुंगामा कुदिएको १२ शहीदको आकृति र छुट्टै चिडिया घर स्थापना गरिएको छ ।

स्मारकको उत्तरतिर प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनका नेता बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक स्थापना गरिएको छ ।

लामो समयदेखि पर्यटक आवगमन ठप्प रहेको स्मारकमा दशैंपछि भने केही आन्तरिक पर्यटकको चहलपहल बढेको छ । स्मारकमा हाल झोलुंगेपुल, थाहास्तम्भ, बुद्ध प्रतिमा, मनमोहन उद्यान, पौडीपोखरी, बनभोजस्थललगायत एकसिंगे गैंडाको प्रतिमा स्थापना पछि वाह्य र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको समितिले जनाएको छ ।

स्मारकमा भारतका विभिन्न शहर तथा भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्सलगायत देशका पर्यटक पनि अवलोकनका लागि आउने गरेका छन् ।

समितिलाई प्रभावकारीरुपमा सञ्चालनमा ल्याउन परिसरभित्र आन्तरिक पर्यटन सूचना केन्द्र, तालीम कक्ष, अतिथि भवन आदि निर्माण गर्ने योजना रहेको जनाइएको छ ।

स्मारकपरिसरबाट उत्तरतर्फ रहेको पुण्यक्षेत्रको शक्तिपीठमा जान करिब दुई किलोमिटर सडक निर्माणका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय र उपमहानगरपालिकालाई समितिका तर्फबाट पत्राचार गरेको जनाइएको छ ।

तत्कालीन मकवानपुर जिल्ला विकास समिति र हेटौंडा नगरपालिकाको पहलमा २०५० वैशाख १५ गते स्मारक स्थापना गरिएको थियो ।

तत्कालीन जिल्ला विकास समिति मकवानपुरका सभापति वीरबहादुर लामाले स्मारक शिलान्यास गरेका थिए । तत्कालीन नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ माघ १७ गते स्मारक उद्घाटन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*