बस्तिपुर जेसीजको जेसीज सप्ताह सकियो
मकवानपुर । बस्तिपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह सकिएको छ । विविध कार्यक्रमको आयोजना गरि जेसीज सप्ताह मनाइएको थियो । शुक्रबार बिहान हेटौंडा १९ बस्तिपुरमा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना भएको थियो ।
जेसीज सप्ताह २०२० अन्तर्गत सृजनशिल अनाथ प्राविमा खाद्यान्न वितरण, मनहरी(५ बसन्तपुरमा रहेको भोजसिद्ध माविमा मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण, लेवट चौकीलाई सूचना बोर्ड हस्तान्तरण, हेटौंडा(१९ नेवारपानीमा रहेको अरनीको माविलाई सूचना बोर्ड हस्तान्तरण गरिएको थियो ।
यस्तै मनहरी ४ माथिल्लो मसिनेमा रहेको सृजना प्राविमा न्यानो कपडा वितरण र जुम मार्फत कानूनी सचेतना कार्यक्रम भएको थियो । कार्यक्रम संयोजक प्रकाश लामा थोकरको संयोजकत्व एवम् जेसीज अध्यक्ष जयराम सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि बिष्टले बस्तिपुर जेसीज संग सहकार्य गरि युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्य गर्न तयार रहेको बताइन् । यस्तै १९ नम्वर वडा अध्यक्ष नरनाथ सुवेदी नवराजले आफ्नो वडामा जेसीजलाई विकासको साझेदार बनाएको उल्लेख गरे । कार्यक्रममा पूर्व अध्यक्ष दिपेन्द्रकुमार बर्तौला, अध्यक्ष सल्लाहकार ऋषि केवि, निर्मल बहुमुखी क्याम्पस अध्यक्ष बिष्णुहरि पण्डित, मुल कार्यक्रम संयोजक रबिन ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मुल कार्यक्रम संयोजक ढकालले कार्यक्रम संयोजकहरुलाई मायाको चिनो वितरण गरेका थिए । उत्कृष्ट कार्यक्रम संयोजकको पुरस्कार पम्फा रोक्काले प्राप्त गरेकी थिइन् । अध्यक्ष सुबेदीले कोरोनाको कारण आफ्नो कार्यकालमा सोचे कति काम गर्न नसकेको स्वीकार गर्दै कोरोनाको समयमा आफ्नो कार्यक्षेत्रको स्थानीय तहलाई नगद हस्तान्तरण गरिएको स्मरण गरे ।
कार्यक्रममा जेसीजका निवर्तमान अध्यक्ष सुनिल अधिकारी, पूर्व अध्यक्ष बिनोदकुमार बर्तौला, बसन्त सिटौलासहित विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।










