३ म्यानपावर ६ महिनाका लागि निलम्बित

हेटौडा न्युज
२१ मंसिर २०७७, आईतवार ०९:०२
;

काठमाडौँ । देशिक रोजगार विभागले तिन वटा म्यानपावर कम्पनिलाई निलम्बन गरेको छ । कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने ठूला तिन वटा म्यानपावर कम्पनीलाई विभागले ६ महिना निलम्बन गरेको हो ।

विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावर निलम्बन गरेको हो ।

अब यी कम्पनीले निलम्बन फुकुवा नभएसम्म वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा श्रमिक पठाउन नपाउने विभागले जनाएको छ ।

यी कम्पनीले श्रमिक भर्ना प्रक्रिया नै उल्लंघन गरी कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता अगाडि बढाएका थिए ।

आफ्ना एजेन्टमार्फत अन्तर्वार्ताका लागि गोप्य भर्ती गर्न युवालाई भेला गरिएको थियो । उनीहरूले भेला गरेका युवाको अन्तर्वार्ता लिन कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागका उच्च अधिकारी काठमाडौं आएका थिए ।

विभागको टोलीले छापा मार्दा होप इन्टरनेसनलमा अन्तर्वार्ता लिइरहेका बेला कतारी अधिकारीहरूसमेत फेला परेका थिए । कारबाहीमा परेका म्यानपावर कम्पनीका सञ्चालकहरूसँग बयान लिइने भएको छ । म्यानपावर कम्पनीले पेस गरेको लिखित जवाफ चित्त नबुझेपछि बयान लिन लागिएको हो ।

गत वर्षको पुसमा यी तीनवटै म्यानपावर कम्पनीले गोप्य रूपमा एक सय ७९ जना नेपालीलाई कतारी प्रहरीमा भर्ती गरेका थिए । म्यानपावरले भर्ती हुने युवासँग ८ देखि १२ लाख रुपैयाँसम्म असुल गरेको खुलेको थियो ।

वैदेशिक रोजगार ऐनअनुसार भर्नालाई पारदर्शी बनाउनका लागि सार्वजनिक सूचना जारी गर्नु अनिवार्य छ । नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण गरी विभागबाट पूर्वस्वीकृति लिई दैनिक पत्रिकामा सूचना जारी भएको सात दिनपछि मात्रै तोकिएको दिन अन्तर्वार्ता गर्नुपर्छ ।

दोस्रो चरणमा झन्डै ३ सय जनालाई भर्ती गर्ने तयारी थियो । दोस्रो लटमा भने २० करोड रुपैयाँको खेल भएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

विश्वकपलाई समेत लक्षित गरी सुरक्षा गार्डमा झन्डै १२ हजारसम्म नेपाली लैजाने कतारको योजना छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*