भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड एक लाख २३ हजार भन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा २४ हजार ७१२ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड १ लाख २३ हजार ७७८ पुगेकोे हो ।
गत २४ मा भारतमा कोरोनाको कारण ३ सय १२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ७५६ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ९३ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८३ हजार ८४९ सक्रिय संक्रमित रहेका छन् ।
दिल्लीमा गत २४ घण्टामा ८७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको र १८ जनाको संक्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ३४७ जनाको मृत्यु भइसकेको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १६ करोड ५३ लाख ८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।










