चिनी उद्योग सञ्चालक अग्रवाल पक्राउ
काठमाडौं । अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो ।
उनलाई त्रिपुरेश्वरस्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
उखु किसानको लाखौं रुपैयाँ भुक्तानी गर्छु भनी प्रतिबद्धता गरेको तर समयमा भुक्तानी नगरेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।
राकेशको स्वामित्वमा नवलपरासीको प्रतापपुरम रहेको इन्दिरा सुगर मिलले उखु किसानको पाँच करोड र अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाहीले १७ करोड रकम भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।
उनी यसअघि पनि किसानको रकम भुक्तानी नदिएको आरोपमा २०७५ कात्तिकमा पक्राउ परेका थिए ।











