रेड पाण्डाको छालासहित ३ जना पक्राउ
बाँके । बााकेमा रेडपाण्डाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका–१२, चप्परगौरीस्थित एक होटेलबाट दुई थान रेडपाण्डाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले सो होटेलबाट उनीहरू पक्राउ गरेको हो ।
उनीहरुले झोलामा लुकाइ राखेको अवस्थामा उक्त छालासहित फेला गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेतको भेरीगंगा नगरपालिका–१० बस्ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोटको जुनिचाँदी गाउँपालिका–११ बस्ने ४२ वर्षीय धनबहादुर शाही र सल्यानको बनगाड कुपिन्डेदह नगरपालिका–४ बस्ने ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।










