राक्सिराङमा ७ करोड लागतमा स्वास्थ्य चौकी

हेटौडा न्युज
२१ माघ २०७७, बुधबार ११:५९

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको छ । राक्सिराङको खैराङमा ७ करोड रुपैयाको लागतमा स्वास्थ्य चौकी भवन निर्माण सुरु गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)को सहयोगमा निर्माण सुरु भएको भवनको हो ।

बागमती प्रदेश सभा सदस्य सन्त चेपाङ र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

डेढ बर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी ललितपुरको मैनापोखरी कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

दुई तले भवनमा भुई तलामा २१ वटा कोठा निर्माण गरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । माथिल्लो तलामा भने ४ परिवार बस्न मिल्ने आवासीय फ्ल्याट बन्नेछ ।

स्वास्थ्य चौकीबाट राक्सिराङ–९ र ४, कैलाश गाउँपालिकाको केहि क्षेत्र र धादिङको बेनिघाट रोराङ गाउँपालिकाको केहि क्षेत्र गरी झण्डै १० हजार सर्वसाधारणले स्वास्थ्य सुविधा प्राप्त गर्ने अध्यक्ष मल्लले जानकारी दिए ।

स्वास्थ्यचौकी निर्माण भएपछि एम्बुलेन्सको समेत व्यवस्था गरिने उनले प्रतिबध्दता जनाए । साथै स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरणको प्रयास समेत गरिने उनले बताए ।

प्रदेश सभा सदस्य सन्त चेपाङले विकट क्षेत्रका नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भनी आफूले सम्बन्धित निकायमा पहलका लागि काम गर्दै आएको बताए ।

सुविधासम्पन्न स्वास्थ्यचौकी बनेपछि यहाँका बासिन्दाहरु सामान्य उपचारको लागि पनि मनहरी, भरतपुर, हेटौंडा अथवा काठमाण्डौं जानुपर्ने समस्याको अन्त्य हुने उनले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का बिष्णु अर्यालले स्वास्थ्य चौकी भवन समय अगावै सम्पन्न गर्ने गरी काम गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*