मकवानपुर सुमो दुर्घटना: एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा शनिबार साँझ भएको शुमो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने मकवानपुरको भिमफेदी–९ गोलमोडमा भएको सुमो दुर्घटनामा गम्भिर घाइते भएका मध्य एक जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौँडा तर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको सुमो अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा ३ जना गम्भीर घाइते भएका थिए ।
मृत्यु हुनेमा सप्तरी बनौली–२ बस्ने ३३ बर्षीय प्रमान्द चौधरी रहेको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा हेटौँडा अस्पताल राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिए ।
घाइते हुनेमा विरगंज–१३ का ३० बर्षीय मनोज साह, मनोजकी श्रीमती २६ बर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई–१० का ३२ बर्षीय प्रदिपकुमार साह, सर्लाही अभिलासी–७ का ३२ बर्षीय मधुकर यादव रहेको जनाइएको छ ।
सामान्य घाइते भएकाहरु उपचार गरी डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त क्षेत्रमा शनिवार दिउँसो भएको हिमपातका कारण सुमो चिप्लिएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।










