बालमैत्री गाउँपालिका घोषणा गर्दै बकैया

हेटौडा न्युज
२५ माघ २०७७, आईतवार ११:१८
;

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका आउँदो माघ २९ गते बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने गाउँपालिका घोषणा गरिने भएको छ । शनिवार पत्रकार सम्मेलनमार्फत बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने स्थानीय तहको रुपमा विकास गर्न लागिएको बताइएको हो ।

देशकै दोस्रो गाउँपालिकाको रुपमा माघ २९ गते बालमैत्री गाउँपालिका घोषणा गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिए ।

यसअघि मकवानपुरको मनहरी गाउँपालिका पहिलो बालमैत्री गाउँपालिकाको रुपमा घोषित भएको थियो ।

गाउँपालिकाले २०७४ असार ३० गते गाउँसभाबाट बालमैत्री स्थानीय शासन अवलम्वन तथा २०७४ पुस १७ गते बालमैत्री स्थानीय शासन बनाउने प्रतिवद्धता गरेको थियो ।

सोही निर्णय कार्यान्वयनका लागि गाउँपालिकाले बजेट तथा कार्यक्रमसमेत पारित गरेको छ । यस कार्यक्रमको लागि गाउँपालिकाले गत आर्थिक वर्ष ०७६÷०७७ मा ५० लाख रुपैयाँ र चालु आर्थिक वर्ष ०७७÷०७८ मा ८० लाख रुपैयाँ विनियोजनसमेत गरेको छ ।

गाउँपालिकाको १२ वटै वडामा बालमैत्री सहजकर्ता राखेर वडा तहमा बालमैत्री स्थानिय शासनसम्बन्धि काम सुरु गरिएको छ भने गाउँपालिकास्तरीय संजाल गठन गरेर बाल विवाह, बाल श्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानवबेचबिखन न्यूनिकरणका लागि, टोल विकास संस्था, महिला सहकारी र विद्यालयमा नियमित रुपमा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानियशासन कार्यान्वयन कार्यविधि २०६८, नेपालको संविधान २०७२ को मौलिक हक, बालबालिका ऐन २०७५, स्थानिय सरकार संचालन ऐन २०७४ मा बालबालिका केन्द्रीत कानूनी व्यवस्थालाई अवलम्बन गरेर बालमैत्री स्थानिय शासन अवलम्बनको अभियान चलाइएको छ ।

२०७७ कार्तिक २२ र २३ मा गरिएको सर्वेक्षण अनुसार बालमैत्री स्थानीय शासन अवलम्बनका लागि कूल ३९ वटा सूचकमध्ये १९ वटा सूचक पूर्ण रुपमा पुरा गरिएको र बाँकी २० वटा सूचक ९८ प्रतिशतसम्म पुरा गरिएको गाउँपालिकाले जनाएको छ ।

बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने गाउँपालिका घोषणका लागि जिल्ला समन्वय समिति मकवानपुरबाट अनुगमन गराएर प्रमाणित भएकोले गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको उपाध्यक्ष सरला बोलखेले बताइन् ।

बालमैत्री अभियान सञ्चालन गरेको करिब ३ बर्षपछि यसले सार्थकता पाएको बकैया गाउँपालिकाका अध्यक्ष खनालको भनाइ छ ।

उनका अनुसार बालमैत्री घोषणाका लागि आधारभूतरूपमा बालश्रम र बाल विवाहमुक्त क्षेत्र बनाइएको छ । बालविवाह रोक्ने, बालश्रम न्यूनीकरण गर्ने कामलाई निरन्तरता दिइएको छ ।

बालमैत्री घोषणाका लागि गाउँपालिकाले योजना तर्जुमा गर्नुको साथै तालिम, गोष्ठी तथा अन्तरक्रिया सञ्चालन गरिरहेको छ । भौतिक पूर्वाधारहरुको निर्माण र पुननिर्माण बालमैत्री ढंगले गरिएको उनले बताए ।

महिलाहरुलाई प्रशुतीका लागि वर्थिक सेन्टरको स्थापना गर्नुको साथै यातायात भत्तामा बृद्धि गरिएको छ । गाउँपालिकाका जनतालाई निशुल्क रगतको उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

घोषणाका लागि बाल अधिकार समिति, गाउँ बाल सञ्जाल, बालमैत्री स्वयम्सेवक, बालमैत्री शासन समितिलाई सक्रिय बनाइएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताइन् । बालविवाह र बालश्रम न्यूनीकरणका लागि निकै संघर्ष गर्नुपरेको बताउँदै उनले ६७ वटा जोडीको बालविवाह बदर गरिएको जानकारी दिइन् ।

माघ २९ गते बालमैत्री गाउँपालिका घोषणा गर्ने कार्यक्रमको लागि आवश्यक तयारी पूरा भएको र त्यसलाई व्यवस्थापन गर्न १ सय ५१ सदस्यीय मुल समारोह समिति तथा विभिन्न उपसमितिसमेत बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*