जनगणनामा खटिने कर्मचारीलाई ५ लाखको बिमा

हेटौडा न्युज
२६ माघ २०७७, सोमबार १६:४०
;

काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ मा खटिने कर्मचारीलाई पाँच लाख रुपैयाँको बिमा व्यवस्था गरिने भएको छ । राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रीय तथ्यांक विभागले जनगणनामा खटिने कर्मचारीलाई उक्त व्यवस्था गरेको जनाएको हो ।

आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्म हुने जनगणनामा खटाइने ३९ हजार कर्मचारीका निम्ति यो व्यवस्था गरिने भएको हो ।

त्यसका साथै जनगणना कार्यमा खटिने कर्मचारी घाइते भएमा उपचारको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक कार्यविधि अनुसार बढीमा ५० हजार रुपैयाँको उपचार खर्चसमेत उपलब्ध गराउने उल्लेख छ ।

विभागले जनगणनाका निम्ति आवश्यक ८ हजार सुपरिवेक्षक र ३९ हजार गणकको माग जनशक्ति माग गरिएको छ ।

योग्यता पुगेका व्यक्तिले मुलुकको जुनसुकै ठाउँबाट अनलाइनबाट आवेदन दिन सक्ने छन् । सुपरिवेक्षकले स्नातक उत्तीर्ण गरेको हुनेपर्नेछ भने गणकले कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

आगामी चैत ११ गतेसम्म आवेदनको म्याद रहेको र त्यसपछि छनोट तथा नियुक्त गरिने उनले जनाएका छन् ।

‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित सम्पन्न हुने जनगणनामा ८० भन्दा बढी प्रश्नावली सोधिने छन् । जनगणनामा खटाइने सुपरिवेक्षक, गणक र कर्मचारीले ती प्रश्नावली भर्नेछन् । विभागले जनगणनाका निम्ति झोला, छाता, क्यापटोपी, टर्च, मार्कर, डटपेन लगायत सामग्री तयार गरिसकेको छ ।

काठमाडौं उपत्यकाका ७ वटा महानगर तथा नगरपालिकामा ट्याबलेट प्रविधिबाट जनगणनाका विवरण संकलन गरिने छ ।

सात प्रदेश र ८७ जिल्ला जनगणना कार्यालय रहेका छन् । काठमाडौं, झापा, मोरङ, रुपेन्दही लगायत जनघनत्व बढी भएका जिल्लामा एकभन्दा बढी जनगणना कार्यालय विस्तार गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*