निजी अस्पतालका मेडिकल अफिसरको तलब ४२ हजार

काठमाडौं । निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम पारिश्रमिक तोकेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम पारिश्रमिक तोकेको हो ।
बैठकको निर्णय अनुसार अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजि अस्पतालहरुले अब मेडिकल अफिसरलाई न्युनतम पारिश्रमिक ४२ हजार दिनु पर्नेछ ।
निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम तलब तोकिएको नेपाल चिकित्सक संघले जनाएको छ ।
संघका अनुसार यसअघि निजी संस्थामा न्यूनतम तलबमा एकरूपता नभएको तथा धेरैले निकै कम तलब दिने गरेको संघमा उजुरी परेको जनाएको छ ।
बैठकले आजैको मितिदेखि लागू हुने गरी ओपीडीमा काम गर्ने चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० देखि ८ सय २५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ ।
अफिन र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको जनाएको छ ।