हेटौंडानै नदेखेका ५ जनासहित एकैदिन राक्सिराङका ६० जनाले लिए नागरिकता

हेटौडा न्युज
२३ फाल्गुन २०७७, आईतवार १६:४३
;

मकवानपुर । जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङ गाउँपालिका वडा नम्बर–७, डाम्राङ, गार्लिङ, धिराङ गाउँका ६० जना स्थानीयले आज एकै दिन नागरिकता पाएका छन् । विकट क्षेत्रका ती गाउँका नागरिकलाई सदरमुकाम हेटौंडा आईपुग्न करीब ६ घण्टाको पैदल यात्रा तय गर्नु पर्दछ ।

विकट क्षेत्र, आर्थिक स्थिति कमजोर भएका कारण उनीहरु नागरिकता बनाउन हेटौंडा आउन सकिरहेका थिएनन् । सामान्यतया १६ बर्ष उमेर पुगेपछि नागरिकता बनाउन पाईने भएपनि केहीले ७२ बर्षमा आज नागरिकता प्राप्त गरेका छन् ।
गाउँपालिका, टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिहरुको आर्थिक सहयोगमा हेटौंडा आउने र सवारी साधन पुग्न सक्ने स्थान सम्म पुन लैजाने गरी उनीहरुलाई हेटौंडा ल्याईएको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । आज नागरिकता बनाउन आउने सबैलाई खानाको समेत व्यवस्था मिलाईएको थियो ।

आज नागरिकता प्राप्त गर्नेहरु मध्ये ५५ जना चेपाङ समुदायका मात्रै रहेका छन् भने बाँकी तामाङ र सुनार रहेका छन् । स्थानीय वडाको सिफारिस चाहिने हुनाले आवश्यक कागजात लिएर वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर प्रजा समेत जिल्ला प्रशासन कार्यालयमा आफै उपस्थित रहेका थिए ।

नागरिकता बनाउने मध्ये ५ जना पहिलो पटक हेटौंडामा

आज राक्सिराङ गाउँपालिकाबाट नागरिकता बनाउन आएका मध्ये ५ जना पहिलो पटक हेटौंडा आएका हुन् । विकट स्थान, आर्थिक अवस्था कमजोर र हातमुख जोर्न सधै खेतीपातिमै लागि रहनु पर्ने भएपछि हेटौंडा समेत आउन नसकेको ६४ बर्षीय भोजुराम प्रजाले दुखेसो व्यक्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस अघि जिल्लाका विकट स्थानमा टोली बनाएर नागरिकता वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*