जनप्रतिनिधिको भत्ताबाट संक्रमितलाई पोषिलो खाना
मकवानपुर । थाहा नगरपालिका वडा नम्बर ७ को कार्यालयले कोरोना संक्रमितलाई प्रति संक्रमित १ किलो चना र १५ ओटा कुखुराको अण्डा उपलब्ध गराउने भएको छ । वडा अध्यक्षको नगरपालिकाबाट प्राप्त हुने १ महिनाको भत्ता साथै वडा सदस्यहरुको ४ महिनाको बैठक भत्ताबाट चना र अण्डा खरिद गरिने वडा अध्यक्ष सनमसिंह मुक्तानले जानकारी दिएका छन् ।

कोरोना संक्रमितको मनोबल उच्च बनाउन घरघरमै गएर चना र अण्डा वितरण गरिने वडा अध्यक्ष सनमसिंह मुक्तानले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । वडा कार्यालयको यस कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध समेत गरेको छ । सामाजिक सञ्जाल मार्फत आएको जानकारीपछि सोही वडाका प्रकाश खड्काले ५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
थाहा नगरपालिका वडा नम्बर ७ मा हालसम्म ५८ जना कोरोना संक्रमित रहेका छन् । संक्रमित मध्ये १ जनाको हेटौंडामा उपचार भइरहेको र बाँकी ५७ जनामा घरमै रहेको बताईएको छ ।
सञ्चारकर्मी राजकुमार केसी, पालुङको सहयोगमा ।










