मकवानपुरमा ७९ केजी गाँजासहित २ जना पक्राऊ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा ७९ केजीसहित २ जनालाई पक्राऊ गरेको छ । प्रहरी चौकी चैनपुरबाट असई दीपकराज न्यौपानेको प्रहरी टोलीले हिजो असार ११ गते दिउँसो राक्सिराङ–५ परेवाभीर नजिकबाट राक्सिराङ–९ का बर्ष २० को प्रताप स्याङतान र कैलाश–२ का बर्ष ४३ लाल बहादुर स्याङतानलाई सो परिमाणको गाँजासहित पक्राऊ गरेको जनाएको छ ।
प्रहरीका अनुसार परेवाभीर सडकखण्डमा कैलाश तर्फबाट मनहरी बजारतर्फ बोराको भारी बोकी पैदल हिंडिरहेका ८÷९ जना मानिस आईरहेकोमा प्रहरीलाई देखेर सबै भागेका थिए । तर सो समूहमध्येका २ जनालाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएकाको बोरामा लागूऔषध गाँजा ७९ किलो फेला परेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले अन्य फरार व्यक्तिहरुको खोजी गरिरहेको प्रहरी निरीक्षक देवेन्द्र दासले जनाएका छन् ।










