देशभर दही च्युरा खाएर धान दिवस मनाईदै
मकवानपुर । नेपालमा प्रत्येक वर्ष असार १५ गतेलाई धान दिवसका रुपमा मनाईने गरीन्छ ।
आज मंगलबार असार १५ गते खेतमा काम गरी दही च्युरा खाएर मनाइँने प्रचलन रहेको छ । २०६२ साल असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् ।
यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्युरा खाने पर्वको रुपमा पनि लिइन्छ ।
खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्युरा खाई असार १५ लाई पर्वकै रुपमा मनाउँछन् ।










