एक सय ९ सांसदलाई ज्ञापनपत्र

हेटौडा न्युज
१७ असार २०७८, बिहीबार १८:०५
;

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका १ सय ९ सांसदलाई ज्ञापनपत्र बुझाएको छ ।

बागमती प्रदेश सरकारले आफ्नै आम संचारगृह संचालन गर्न बजेट विनियोजन गरेको प्रति १ सय ९ सांसदलाई ध्यानाकर्षण सहित आज बिहीबार ज्ञापनपत्र बुझाएको हो । पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले केही सांसदलाई भेटेर र अन्य सांसदलाई संसदीय दलमार्फत ज्ञापनपत्र बुझाएको हो ।

महासंघले सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाएको छ । १ सय १० सांसद रहेको प्रदेशसभामा सांसद पशुपति चौलागाईंको निधन भएपछि १सय ९ जना मात्रै सांसद रहेका छन । ज्ञापनपत्रमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा स्वतन्त्र प्रेस, लोकतन्त्रको मुल्य मान्यता बिपरित प्रदेश सरकार आफैले आम सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याएकोप्रति आमसञ्चार क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरीएको छ ।

देशकै ठूलो हिस्सा ओगटेको बागमती प्रदेश भित्रको सञ्चार क्षेत्रलाई कुनै सम्बोधन नगरेकोप्रति आपत्ति प्रकट गर्दै सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दे ज्ञापनपत्र बुझाईएको हो । सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गर्दै उक्त निर्णय फिर्ता नभए महासंघ कडा आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा महासंघले प्रदेश सरकारले आम संचारगृह संचालन गर्ने निर्णय फिर्ता गराउन भूमिका खेलिदिन सांसदहरुलाई आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*